काठमाडौं - सरकारले संघीय संसद्को आगामी अधिवेशन मंसिर दोस्रो साता बोलाउने तयारी गरेको छ। यसबारे सरकारले दिएको सन्देश सभामुख डोलप्रसाद अर्यालले राजनीतिक दलहरूसमक्ष पुर्‍याएका छन्।

सभामुख अर्यालले बिहीबार सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। छलफलमा सरकारले मंसिर दोस्रो सातातिर अधिवेशन आह्वान गर्ने तयारी गरेको जानकारी गराइएको थियो।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटी, नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीलगायत सहभागी थिए।

बैठकमा संसद्मा विचाराधीन विधेयक, तिनमा परेका संशोधन तथा संसदीय समितिमा भइरहेको दफावार छलफलबारे पनि चर्चा भएको थियो। आगामी अधिवेशनमा सकेसम्म धेरै विधेयक पारित गर्ने सरकारको तयारी रहेको सन्देश पनि सभामुखमार्फत दलहरूसमक्ष पुर्‍याइएको छ।

संघीय संसद् सचिवालयका अनुसार संघीय संसद्का दुवै सदनमा गरी ३६ वटा विधेयक विचाराधीन छन्। तीमध्ये प्रतिनिधिसभाका विभिन्न विषयगत समितिमा मात्रै २४ वटा विधेयक छलफलका क्रममा छन्।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पाँच, अर्थ समितिमा चार तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, महिला तथा सामाजिक मामिला समिति र कानुन, न्याय तथा मानव अधिकार समितिमा तीन–तीनवटा विधेयक विचाराधीन छन्।

त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा राज्य व्यवस्था तथा सुशासन समितिमा दुई–दुईवटा र कृषि तथा प्राकृतिक स्रोत समितिमा एउटा विधेयक विचाराधीन रहेको संसद् सचिवालयले जनाएको छ। राष्ट्रिय सभाका समितिमा भने कुनै पनि विधेयक विचाराधीन छैन।

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा प्रस्तुत हुन बाँकी एउटा विधेयक राष्ट्रिय सेवा दलसम्बन्धी छ। त्यस्तै, सभामा प्रस्तुत भएर मात्रै विचाराधीन अवस्थामा रहेको एउटा विधेयक डिप्लोमा इन्जिनियरिङ परिषद्सम्बन्धी हो।

समितिमा छलफल भएर प्रतिवेदन तयार भएका दुई विधेयक पनि छन्। संवैधानिक निकायका पदाधिकारीहरूको सेवा, सर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ को प्रतिवेदन सभामा पेस भइसकेको छ। नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयकको समितिगत प्रतिवेदन भने सचिवालयमा प्राप्त भएको छ।

यसबीचमा संसद्मा थप सातवटा विधेयक दर्ता भएका छन्। अधिवेशन अन्त्य हुने दिन संघीय निजामती सेवा विधेयक, २०८३ दर्ता भएको थियो। त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, सुशासन (व्यवस्थापन तथा सञ्चालन)(पहिलो संशोधन) विधेयक, भवन (दोस्रो संशोधन) विधेयक, राष्ट्रिय सडक सुरक्षा विधेयक तथा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक दर्ता भएका हुन्।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले असोज १६ गते राति १२ बजेदेखि लागू हुने गरी संघीय संसद्को अधिवेशन अन्त्य गरेका थिए।

संसद् सचिवालयका अनुसार संघीय संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयकको संख्या १२ पुगेको छ। संसद्मा प्रस्तुत भएका छवटा सन्धि तथा महासन्धि पनि पारित भइसकेका छन्।