काठमाडौं - भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड बजारमा बिहीबार राति खसेको पहिरोमा परेका नेपालीको खोजी जारी छ ।

नयाँदिल्लीमा रहेको नेपाली दूतावासका अनुसार केदारनाथधामको पैदलमार्ग सुरु हुने ठाउँमा खसेको पहिरोमा परेका नेपाली र भारतीयमध्ये तीन जनाको शव फेला परेको छ । मृतकमध्ये दुई नेपाली हुन् ।

नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार मृतकमध्ये कालीकोटका टेकबहादुर कामीको पहिचान भएको छ, अर्का एक नेपालीको अझै सनाखत भएको छैन ।

पहिरोमा १६ जना नेपाली बेपत्ता भएको अनुमान गरे पनि यकिन संख्या प्राप्त नभएको गृह मन्त्रालयले जनाएको छ । त्यहाँ काम गर्ने नेपालीहरुका अनुसार जुम्ला, हुम्ला र कालिकोटका गरी १६ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेको यकिन संख्या र विवरण प्राप्त हुन बाँकी रहेको छ ।