काठमाडौं - नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा सही राजनीतिक नेतृत्वकर्ता नहुँदासम्म देश अगाडि बढ्न नसक्ने बताएका छन् ।

स्पेन भ्रमणमा रहेका घिसिङले एनआरएनए क्षेत्रीय समिति कोष्टाव्लाङ्का र नेपाल समाज एशोसिएसन कोष्टाव्लाङ्काद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेपालको समग्र विकासका लागि सही नेतृत्व आवश्यक रहेको बताएका हुन् ।

घिसिङ्ले भने- ‘सही नेतृत्व नहुँदासम्म देश अगाडि बढ्न सक्दैन। अहिले देशभरि झण्डै हरेक घरमा बत्ती पुगेको छ। तर बत्तीको उज्यालोले मात्रै पुग्दैन। देशभित्र हरेक क्षेत्र उज्यालो हुनुपर्छ। सुशासन कायम गर्न, रोजगारी सिर्जना गर्न र नेपालको समृद्धिको खाका कोर्न उज्यालो नेपाल अभियान सुरु गरिएको हो।’

उनले विदेशमा रहेका नेपालीलाई नेपाल फर्काउन र छिटो आर्थिक परिवर्तन गर्न सही राजनीतिकज्ञ आवश्यक भएको बताए ।