काठमाडौं - गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् ।
यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुने विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन उनी शुक्रबार साँझ ७ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।
गृहमन्त्री गुरुङको सचिवालयका अनुसार सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य विस्तार, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम अभ्यासबारे अनुभव आदानप्रदानलाई प्राथमिकता दिइनेछ ।
सम्मेलनमा उच्चस्तरीय नीतिगत छलफल, विषयगत तथा प्राविधिक सत्र, राउन्डटेबल बैठक, कार्यशाला तथा तालिम, अन्तर्राष्ट्रिय प्रदर्शनी र विश्व प्रहरी पुरस्कारलगायतका कार्यक्रम सञ्चालन हुनेछन् ।
सम्मेलनको यस संस्करणमा सुरक्षा र प्रहरी सेवासँग सम्बन्धित १४ वटा विषयगत क्षेत्र समेटिएका छन् । जसमा रक्षा तथा संकट प्रतिकार्य, स्वचालित रोबोट, ड्रोन तथा मानवीय क्षमता, कृत्रिम बुद्धिमत्तामा आधारित प्रहरी सेवा, डिजिटल रूपान्तरण, साइबर आक्रमण तथा डिजिटल ठगी नियन्त्रण, क्रिप्टो कारोबार र वित्तीय अपराध नियन्त्रण प्रमुख छन् ।
त्यस्तै, अपराध अनुसन्धान, गुप्तचर सूचना, आधुनिक फरेन्सिक प्रविधि, लागुऔषध तथा संगठित अपराध नियन्त्रण, सीमा सुरक्षा, स्मार्ट सुरक्षा प्रणाली, भू–उपग्रह सूचना र अन्तरिक्ष सुरक्षालगायतका विषयमा समेत छलफल हुनेछ ।
सम्मेलनका क्रममा गृहमन्त्री गुरुङले यूएईसहित विभिन्न मुलुकका आन्तरिक मामिलासम्बन्धी मन्त्री तथा सुरक्षा प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । ती भेटवार्तामा सुरक्षा क्षेत्रमा प्राविधिक सहयोग र अनुभव आदानप्रदानका साथै मानव बेचबिखन, मानव तस्करी र साइबर अपराध नियन्त्रणमा सहकार्य विस्तारका विषयमा छलफल हुने जनाइएको छ ।

.gif)



