काठमाडौं - काठमाडौं गोर्खाजलाई रोमाञ्चक प्रतिस्पर्धामा सात रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ ।
लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाडौंलाई हराउँदै सुदूरपश्चिमले १० अंक जोडेर अन्तिम चारमा स्थान पक्का गरेको हो । सात खेलमा पाँच जित र दुई हार बेहोरेको सुदूरपश्चिम अंकतालिकाको शीर्षस्थानमा रहँदै प्लेअफ पुग्न सफल भएको छ ।
सुदूरपश्चिमसँगको हारपछि काठमाडौं गोर्खाजको प्लेअफ यात्रा भने अनिश्चित बनेको छ । अब काठमाडौंले अन्तिम चारमा स्थान बनाउन लिग चरणको अन्तिम खेलसम्म कुर्नुपर्ने भएको छ ।
छ खेलमा चार जित र दुई हार बेहोरेको काठमाडौं आठ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । काठमाडौंले लिग चरणको आफ्नो अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्न बाँकी छ ।
सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो । प्रतिस्पर्धात्मक खेलमा लक्ष्यनजिक पुगे पनि काठमाडौंले जित निकाल्न सकेन र सुदूरपश्चिमले सात रनको रोमाञ्चक जितसहित प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्यो ।

.gif)



