काठमाडौं, पर्सा - सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नकेपा) विन्दवासनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच झडप हुँदा गम्भीर घाइते भएका नेकपा गाउँपालिका सचिव मुकेश चौरसियाको मृत्यु भएको छ ।

बिहीवार दिउँसो साढे १२ बजे विन्दावासिनी गापा ५ प्रसौनीभाठामा पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच भएको झडपमा उनी गम्भीर घाइते भएका थिए।

उनको वीरगन्जकै एलएस न्युरो अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान ९ बजे मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।

नेकपा गाउँपालिका कमिटिले शपथ ग्रहण कार्यक्रम आयोजना गर्दा तत्कालिन एमाले पार्टीका नेता कार्याकर्तालाई सहभागी नगराउँदा उक्त झडप भएको बताइएको छ।

बिहीबार अपरान्ह १ बजे भएको दुबै पक्षका मृत्यु सहित ८ जना घाइते भएका थिए । झडपमा सक्रिय एक पक्षका दुई जना घाइते उत्तम तिवारी र चिन्टु तिवारीको नेसनल मेडिकल कलेजमा उपचार हुदैछ भने अर्का पक्षका घाइतेहरुको वीरगन्जकै एलएस न्युरो अस्पतालमा उपचाररत भइरहेको छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा ७ जनालाई नियन्त्रणमा लिएको थियो । नेकपा पर्साका नेताहरु बीच आन्तरिक विवादका केहि साता यता अलग अलग सपथ ग्रहण कार्यक्रम हुदै आएको छ ।