एजेन्सी - भारतको निर्वाचन आयोगविरुद्ध ठूलो विरोध प्रदर्शनको तयारी भइरहेका बेला व्यङ्ग्यात्मक अनलाइन अभियान ‘कक्रोच जनता पार्टी’ (सीजेपी)का प्रमुखसहित तीन नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदर्शनमा सहभागी हुन नयाँदिल्ली पुगेका उनीहरूलाई विमानबाट ओर्लिनेबित्तिकै पक्राउ गरिएको पार्टीले जनाएको छ ।
युवाहरूको नेतृत्वमा रहेको सीजेपीले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार, अभिजित दिपकेसहित तीन नेतालाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो । निर्वाचन आयोगविरुद्धको प्रदर्शनमा सहभागी हुन राजधानी पुगेका नेताहरूलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएपछि पार्टीले सरकारको कदमप्रति आपत्ति जनाएको छ ।
भारतीय निर्वाचन आयोग (ईसीआई)ले देशभर मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता गरेको आरोप लगाउँदै विपक्षी दलहरूले केही सातादेखि अभियान चलाइरहेका छन्। त्यसैको निरन्तरताका रूपमा शनिबार प्रदर्शनको आह्वान गरिएको हो ।
विपक्षी दल र आलोचकहरूले मतदाता नामावलीको ‘विशेष सघन पुनरावलोकन’ प्रक्रियाका कारण लाखौँ मतदाता मताधिकारबाट वञ्चित हुन सक्ने आरोप लगाएका छन् । यसले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)लाई फाइदा पुग्न सक्ने उनीहरूको दाबी छ ।
तर, निर्वाचन आयोगले भने अनियमितता भएको आरोप अस्वीकार गर्दै पुनरावलोकनको उद्देश्य दोहोरो नाम भएका तथा अयोग्य मतदाताको नाम हटाउनु रहेको बताउँदै आएको छ ।
यस घटनाप्रति विपक्षी आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले पनि सरकारको आलोचना गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले भारतमा ‘मोदीको पूर्ण तानाशाही शासन’ रहेको टिप्पणी गरेका छन् । विमानबाट ओर्लिनेबित्तिकै आन्दोलनकारीलाई पक्राउ गरिनुले सरकारमा अभूतपूर्व स्तरको डर रहेको देखाएको उनको दाबी छ ।
प्रदर्शनकारीलाई मध्यदिल्लीस्थित मुख्य प्रदर्शनस्थलसम्म पुग्न नदिन शुक्रबारदेखि नै राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शन नियन्त्रणका लागि हजारौँ प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
अधिकारीहरूले दर्जनौँ मेट्रो स्टेसन बन्द गर्नुका साथै दिल्ली आउने विभिन्न रेल सेवा रद्द गरेका छन् । प्रदर्शनस्थल आसपासका क्षेत्रमा अस्थायी रूपमा मोबाइल इन्टरनेट सेवा पनि बन्द गरिएको छ ।
शनिबार प्रसारित टेलिभिजन दृश्यमा प्रहरीले मध्यदिल्लीका विभिन्न स्थानमा प्रदर्शनकारीलाई लखेट्दै र सवारीसाधनमा राख्दै गरेको देखिएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार, घटनाक्रमका क्रममा हालसम्म चर्चित युट्युबर ध्रुव राठीसहित ६०० जनालाई नियन्त्रणमा लिइएको छ ।
यी प्रदर्शनलाई गत जुलाईमा सीजेपीले गरेको व्यापक जनपरिचालनको निरन्तरताका रूपमा हेरिएको छ । परीक्षासम्बन्धी विवादपछि चर्किएको उक्त आन्दोलनले शिक्षा मन्त्रीलाई राजीनामा दिन बाध्य पारेको विवरणमा उल्लेख छ ।
यसपटक आन्दोलनकारीहरूले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारले पदबाट राजीनामा दिनुपर्ने माग अघि सारेका छन् । मतदाता नामावली पुनरावलोकनको प्रक्रियालाई लिएर सुरु भएको विवादले निर्वाचन आयोगको भूमिकामाथि राजनीतिक टकराव थप चर्काएको छ ।

.gif)


