नेपाल सर्वाधिक कोरोना संक्रमित देशको ४७ औं स्थानमा
काठमाडौं - नेपाल सर्वाधिक कोरोनाभाइरस संक्रमित देशको ४७ औं स्थानमा रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा ७७ हजार ८१७ जनामा कोरोना पुष्टि भइसकेको छ । त्यस्तै, ५६ हजार ४२८ जना संक्रमणमुक्त भएका छन् भने ४९८ जनाले ज्यान गुमाएका छन् ।
नेपाल भन्दा बढी कोरोना संक्रमित भएका दुई देश कतार (२१४) तथा युएई (४१९) बाहेक नेपालमा संक्रमित संख्याको आधारमा मृत्यु भने कम रहेको छ । कतारमा हालसम्म १ लाख २५ हजार भन्दा बढी संक्रमित रहेका छन् भने युएईमा संक्रमितको सख्या ९४ हजार १९० रहेको छ ।
जोन हप्किन्स विश्वविद्यालयको कोरोनाभाइरस रिसोर्स सेन्टरका अनुसार संयुक्त राज्य अमेरिकामा हालसम्म ७२ लाख ३३ हजारभन्दा बढी संक्रमित रहेका छन् भने २ लाख ६ हजार ९ सय भन्दा बढी संक्रमितले ज्यान गुमाइसकेका छन् । अमेरिकामा करिब ४७ लाख संक्रमित निको भइसकेका छन् ।
त्यस्तै, नेपालको छिमेकी राष्ट्र भारतमा हालसम्म ६२ लाख २५ हजार भन्दा बढी संक्रमित भेटिएका छन् । जसमध्ये ५२ लाख ७३ हजार संक्रमित निको भएका छन् भने ९७ हजार ४९७ जनाको मृत्यु भइसकेको छ । भारतपछि सबैभन्दा बढी प्रभावित ब्राजिलमा ४८ लाख १३ हजारभन्दा बढी संक्रमित रहेका छन् । ब्राजिललमा ४१ लाख ८० हजारभन्दा बढी निको भए पनि १ लाख ४३ हजारको ज्यान गइसकेको छ । दक्षिण अमेरिकी राष्ट्र कोलम्बिया, पेरु, अर्जेन्टिना, मेक्सिको तथा चिली पनि सबैभन्दा बढी प्रभावित देशमा परेका छन् ।
दक्षिण एशियामा भारतपछि सबैभन्दा बढी प्रभावित देश बंगलादेश हो । बंगलादेशमा हालसम्म ३ लाख ६३ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । बंगलादेशमा २ लाख ७५ हजारभन्दा बढी संक्रमित ठिक हुँदा ५ हजार २ सय भन्दा बढीले ज्यान गुमाएका छन् । त्यस्तै, पाकिस्तानमा ३ लाख १२ हजारभन्दा बढी संक्रमित छन् । जसमध्ये २ लाख ९७ हजार ठिक भएका छन् भने ६ हजार ४८४ जनाको मृत्यु भएको छ ।
दक्षिण एशियाली राष्ट्र भुटानमा कोरोना लगभग नियन्त्रणमै रहेको छ । भुटानमा जम्मा २८२ जनामा संक्रमण पुष्टि भएको छ भने २२२ जना ठिक भएका छन् । भुटानमा जम्मा १ जना संक्रमितले ज्यान गुमाएका छन् । त्यस्तै, अर्को राष्ट्र श्रीलंकाले पनि कोरोनालाई नियन्त्रणमै राखेको छ । श्रीलंकामा ३ हजार ३८० जना संक्रमित छन् । जसमध्ये ३ हजार ३२० जना ठिक भइसकेका छन् भने १३ जनाको मात्रै संक्रमणको कारण मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमणको दर दैनिक रुपमा बढिरहेको छ । विशेष गरेर सबैभन्दा बढी जनघनत्व रहेको काठमाडौँ उपत्यकामा संक्रमितको संख्या दैनिक ९ सयको दरले बढिरहेको अवस्थामा आगामी दिन अझै कठिन हुने देखिएको छ । उपत्यकाबाहिर संक्रमितको संख्या घटिरहेको भए पनि चाडपर्व नजिकिएसँगै शहरबाट गाउँ जानेको संख्या बढ्ने हुँदा गाउँमा पनि संक्रमण फैलने खतरा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस