काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तामा नहुँदा क्रान्तिमा ठूलोठूलो त्याग गर्ने कम्युनिस्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको बताएका छन्।
नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा अध्यक्ष प्रचण्डले सत्तामा पुगेपछि कम्युनिष्टहरुमा लोभ, भ्रष्टाचारजन्य क्रियाकलापमा देखिने गरेको बताए।
उनले भने, ‘सत्तामा नहुँदा निकै ठूलो त्याग तपस्या गर्न सक्ने कम्युनिस्ट पार्टीले सत्ता प्राप्त गरिसकेपछि कहिँ न कहिँ त्यो आदर्शबाट विचलित हुने गरेका थुप्रै घटनाहरु विश्व इतिहासमा पनि छन। नेपालको इतिहासमा पनि त्यसका संकेतहरु देखिने गरेका छन्।’
उनले हिजो मृत्युलाई पनि सामना गरेर जस्तो सुकै तपस्या गर्नेहरु सत्तामा पुगेपछि जनताका कामहरु गर्न छाड्ने र कम्युनिस्ट सिद्धान्तबाट विचलित हुने गरेको बताए।
उनले सोभियत संघ र पूर्वी युरोपमा ठूलो त्याग र बलिदानबाट स्थापित भएको कम्युनिस्ट सत्ता पतन भएको दृष्टान्त उल्लेख गर्दै नेपालमा पनि नेतृत्वमा देखिदै गएको लोभ, लालच र भ्रष्टाचारजन्य कृयाकलापले राम्रो संकेत नदेखिएको बताए।
उनले भने, ‘यसो हेर्यो यो भने हाम्रो पनि त्यही नियती। त्यतै जाने खतराका संकेतहरु त्यति राम्रा देखिएनन् आजभोली। यसो घटना हेर्यौं मान्छेहरु बिग्रनेतर्फ गएको जस्तो देखिँदै छ।’

.gif)



