एजेन्सी - विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ८३ हजार ३८९ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले शनिबार जानकारी दिएको छ । सो सङ्गठनका अनुसार शनिबारसम्म विश्वभरीमा एक करोड ७७ लाख ७८ हजार ६४६ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड ११ लाख ७७ हजार १३२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५९ लाख १८ हजार १२५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार ६०४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४७ लाख ६ हजार ५९ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५६ हजार ७५२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । 

दक्षिण अमेरिकामा ४१ लाख २० हजार ७०५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ४३ हजार ९०६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५५ लाख २५ हजार २७८ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख १९ हजार २८८ जनाको मृत्यु भएको छ । युरोपमा २८ लाख ७९ हजार ३६८ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ३ हजार ४३२ को मृत्यु भएको छ । 

एशियामा ४३ लाख १ हजार ७७० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ९६ हजार ७९६ जनाको मृत्यु भएको छ । अफ्रिकामा नौ लाख ३१ हजार ७७७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १९ हजार ७२६ जनाको मृत्यु भएको छ ।  ओसियानामा १९ हजार २७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २२६ जनाको मृत्यु भएको छ ।