रसुवा - रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र चार वटा शव फेला परेका छन्।

रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार खोजी तथा उद्धारका क्रममा सुरुङभित्र चार वटा शव फेला परेका हुन्।

उनका अनुसार उक्त सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ।

गत भदौ १० गते तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीले चिलिमे जलविद्युत् आयोजनासहित रसुवा र नुवाकोटका एक दर्जन जलविद्युत् आयोजना तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको थियो।

आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मानिस फसेको आशंकामा खोजी तथा उद्धार कार्य जारी थियो।

सोही क्रममा चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा दुई शव फेला परेका हुन्।

बाढीपछि १२ वटा जलविद्युत् आयोजनाका सुरुङमा नागरिकहरू फसेको बताइएको छ । 

चिलिमे आयोजनाको सुरुङभित्र ६ जना नागरिक फसेको अनुमान गरिएको छ। 

फेला परेका शवहरूको पहिचान खुल्न बाँकी रहेको छ।

हाल सुरक्षा निकाय र सम्बन्धित अधिकारीहरूले शवको सनाखत तथा अन्य आवश्यक कानुनी प्रक्रियाहरू अघि बढाइरहेका छन्।