काठमाडौं - सरकारले काठमाडौं उपत्यकाका एक हजारभन्दा बढि बिक्री केन्द्रहरूबाट प्रतिकेजी ११० रूपैयाँमा चिनी बिक्री भइरहेको जनाएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज एक प्रेस विज्ञप्ति निकाल्दै काठमाडौं उपत्यकामा चिनीको अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई अनावश्यक रूपमा मौज्दात नगर्न आग्रह गरेको छ ।

चाडपर्वको समय नजिकिँदै गर्दा बजारमा चिनी अभाव हुन थालेको र मनोमानी मूल्य बढाइएको विषय बाहिर आएपछि विभागले विज्ञप्ति निकालेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको अध्यक्षतामा मंगलबार सरोकारवालाहरूसहितको बैठक बसेको र उक्त बैठकको सहमतिअनुसार उपत्यकामा रहेका भाटभटेनी, विगमार्ट, सेल्सबेरीसहित एक हजारभन्दा बढी खुद्रा तथा थोक बिक्री केन्द्रहरूबाट ११० रूपैयाँ प्रतिकेजी सहज रूपमा चिनी उपलब्ध गराइएको विभागले जनाएको छ ।