काठमाडौं - नवनियुक्त कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार सम्हालेकी छन् ।

पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले सोमबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष कानुनमन्त्रीका रुपमा पद तथा गोपनियताको सपथ ग्रहण गरेपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर आफ्नो पदभार सम्हालेकी हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्ष उपस्थित थिए । मन्त्रिगण, नेपाल सरकारका मुख्य सचिव, संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता, प्रधानसेनापति र अन्य सुरक्षा निकायका प्रमुख तथा सरकारका उच्च अधिकृतको पनि सो अवसरमा उपस्थिति थियो ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७४ साल फागुन ३ गते गठन भएको मौजुदा मन्त्रिपरिषद्को यो आठौँ हेराफेरी एवं पुनःगठन हो ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तुम्बाहाङ्फेलाई कानुनमन्त्री पदमा नियुक्त गरेकी थिइन् । यसअघि कानुनमन्त्रालय जनसंख्यामन्त्री भानुभक्त ढकालले हेर्दै आएका थिए ।