काठमाडौं - चीनको वुहान शहरबाट उद्धार गरेर ल्याइएको १७५ जना नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्‍याइएको छ । आइतबार काठमाडौँ ल्याइएको उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरेपछि खरिपाटी लगिएको हो ।

परिक्षण गर्दा कोहि पनि संक्रमित भएका छैनन् । उनीहरु सबैलाई कम्तीमा १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिने छ ।

उद्धार गरिएकाहरुलाई विमानस्थलबाट खरिपाटीसम्म पुर्‍याउन पाँच वटा बस र एउटा एम्बुलेन्स प्रयोग गरिएको थियो । ती गाडीहरुलाई प्रहरीले स्कर्टिङ गरेको थियो ।

खरिपाटीमा राष्ट्रिय प्रयोगशालाका स्वास्थ्यकर्मीहरुले उनीहरुको नमूना परीक्षण गर्नेछन् । नमूना परीक्षण गर्दा कुनै शंका लागेमा उनीहरुलाई बिभिन्न अस्पतालमा बनाइएको आइसोलेसन वार्डमा राखेर उपचार गरिने अधिकारीहरुले बताएका छन् ।