काठमाडौं - मकवानपुरको थाहा नगरपालिका प्रमुखमा माओवादी केन्द्र विजयी भएको छ ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अच्युतम प्रसाद ढकाललाई पाखा लगाउँदै गठबन्धनका तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका बिष्णु बिष्ट प्रमुखमा निर्वाचित भएका हुन् । बिष्टले ९ हजार ७ सय १९ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी ढकाल ७ हजार ७ सय ७१ मतमै रोकिए ।

त्यस्तै, उप-प्रमुख पदमा नेपाली काँग्रेसका भरत गोपाली निर्वाचित भएका छन् । गोपालीले ८ हजार ६ सय ७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कल्पना बलामीले ८ हजार ५ सय २२ मत ल्याएकी थिइन् । झिनो मतले गोपाली विजयी भएका हुन् । सो नगरमा कुल २३ हजार ५६ मत खसेको थियो ।

१२ वडा रहेको यस नगरपालिकामा सबैभन्दा बढी माओवादी केन्द्र १,२,३,४,९ र ११ नम्बर वडामा बिजयी भएको छ भने काङ्ग्रेस ६,७ र १२ नम्बर वडामा बिजयी भएकाे छ। त्यस्तै, एमालेका उम्मेदवारहरू ५, ८ र १० नम्बर वडामा बिजयी भएका छन् ।