काठमाडौं - प्रस्तावित शिक्षा ऐनलाई थप सहभागितामूलक र व्यवहारिक बनाउने उद्देश्यले शिक्षा मन्त्रालयले सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने भएको छ ।
मन्त्रालयले सुरु गर्न लागेको ‘शिक्षा संवाद’ अभियानको पहिलो कार्यक्रम आज कोशी प्रदेशको विराटनगरमा हुँदैछ । विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा आयोजना हुने कार्यक्रममा शिक्षा क्षेत्रसँग प्रत्यक्ष जोडिएका विभिन्न पक्षसँग छलफल गरिनेछ।
मन्त्रालयका अनुसार अभियानअन्तर्गत विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा क्रमशः कार्यक्रम आयोजना गरिनेछ। सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, स्थानीय तहका शिक्षा प्रतिनिधि तथा अन्य सरोकारवालाका सुझाव संकलन गरिने मन्त्रालयले जनाएको छ।
कार्यक्रममा शिक्षा मन्त्रालयका मन्त्रीका सल्लाहकार शैलेन्द्र झा र विद्यालय महाशाखा प्रमुख शिव सापकोटालगायत अधिकारी सहभागी हुनेछन्।
छलफलका क्रममा विद्यालय सञ्चालन, शिक्षक व्यवस्थापन, विद्यार्थीका समस्या, शैक्षिक गुणस्तर, स्थानीय तहको भूमिका तथा प्रस्तावित शिक्षा ऐनमा समेटिनुपर्ने विषयबारे सरोकारवालाका धारणा र सुझाव लिइनेछ।

.gif)



