एजेन्सी - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी एक वर्षभित्र देशका १ करोड युवालाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी सीपमा प्रशिक्षित गर्ने घोषणा गरेका छन्।

भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा नयाँ दिल्लीस्थित लालकिलाबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले ‘विकसित भारत’ निर्माणको अभियानमा युवा शक्तिको भूमिका निर्णायक हुने बताएका हुन् ।

सम्बोधनका क्रममा मोदीले भारतलाई तीव्र गतिमा अघि बढाउने हरेक प्रयासको पछाडि युवाको ऊर्जा, क्षमता र सिर्जनशीलता रहेको उल्लेख गरे। विश्वभर प्रविधिको विकास तीव्र रूपमा भइरहेको अवस्थामा भारतका युवालाई भविष्यको प्रविधिसँग जोड्नु सरकारको प्राथमिकता रहेको उनले बताए।

‘हामीले संकल्प लिएका छौँ कि आउँदो एक वर्षभित्र १ करोड युवालाई एआई सीप तालिम दिनेछौँ, ताकि हाम्रा देशका युवाहरूमा एआईको क्षेत्रमा पनि विश्वलाई नेतृत्व गर्न सक्ने क्षमता निर्माण होस्,’ मोदीले भने।

मोदीले एआईलाई भविष्यको रोजगारी, नवप्रवर्तन र आर्थिक विकाससँग जोड्दै भारतलाई प्रविधिको क्षेत्रमा विश्वकै नेतृत्वदायी भूमिकामा पुर्‍याउने सरकारको लक्ष्य रहेको स्पष्ट पारे।

उनका अनुसार विकसित भारतको लक्ष्य हासिल गर्न युवा पुस्तालाई आधुनिक प्रविधि, सीप र अवसरसँग जोड्नु आवश्यक छ। एआईसहित नयाँ प्रविधिमा दक्ष जनशक्ति उत्पादन गरेर भारतले विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता थप बलियो बनाउने उनको भनाइ छ।