काठमाडौं - नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको बताएका छन्।
महाराजगन्जस्थित निवासमा पत्रकारहरूसँग छलफल गर्दै देउवाले आफूले विशेष महाधिवेशनको आवश्यकता नदेखेको स्पष्ट पारेका हुन्।
उनले अदालतमा विचाराधीन विषयमा बोल्दा त्यसको असर पर्न सक्ने भन्दै अहिले धेरै कुरा नगर्ने संकेत गरे। सर्वोच्च अदालतबाट आफूले न्याय पाउनेमा भने विश्वस्त रहेको उनको भनाइ थियो।
'विशेष महाधिवेशनको पक्षमा थिइनँ, मैले त्यो आवश्यकता पनि देखिनँ। सर्वोच्च अदालतमा पनि मुद्दा परेको छ। अदालतमा विचाराधीन भएको हुनाले धेरै बोल्नु भएन। मलाई विश्वास छ, अदालतले न्याय दिनेछ,' देउवाले भने।
देउवाले पार्टीभित्रको विवाद र विशेष महाधिवेशनको विषयमा भन्दा अहिले अदालतको निर्णयको प्रतीक्षा गर्नुपर्ने धारणा राखेका छन्।
यस्तै, उनले प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारिता लोकतन्त्रका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए। स्वतन्त्र प्रेसले नागरिकलाई सही सूचना दिनुका साथै लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
देउवाले सुदूरपश्चिमले आफूलाई धेरै दिएको उल्लेख गर्दै उक्त क्षेत्रका लागि अझै काम गर्न बाँकी रहेको पनि बताए। सुदूरपश्चिमप्रति आफ्नो जिम्मेवारी अझै रहेको भन्दै उनले त्यस क्षेत्रका लागि थप काम गर्ने धारणा राखे।

.gif)

