काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा तथा जनताको सुखी जीवन अमर सहिदले देखाएको मार्गदर्शन भएको उल्लेख गरेका छन् । सहिद दिवस २०७६ का अवसरमा शुभकामना सन्देश दिँदै लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो जीवन उत्सर्ग गर्ने अमर सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था र जन्मसिद्ध श्रेष्ठताका आधारमा चलेको निरङ्कुश राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर स्वप्नद्रष्टा सहिदको आत्मबलिदानमार्फत सामाजिक न्याय, कानुनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेको स्मरण गरेका छन् ।
लोकतान्त्रिक अधिकार, कानुनी राज्य, न्याय र समानतामा आधारित राज्य व्यवस्थासहितको प्रणाली संस्थागत भएपछि अधिकार प्राप्तिका लागि गरिएको लामो सङ्घर्षको चरण पूरा भएको पनि उनले उल्लेख गरेका छन् ।
यसैबीच नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाका निम्ति सानातिना मतभेदलाई बिर्सेर सहिदको सपना विपनामा रुपान्तरणका लागि सङ्कल्प गर्न आह्वान गरेका छन् ।
सहिद दिवसका अवसरमा सन्देश जारी गर्दै उनले मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेवारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त एवं समुन्नत राष्ट्रमा परिणत गर्न जिम्मेवार सबै पक्षलाई सहिद दिवसले प्रेरणा प्रदान गर्ने विश्वास लिएका छन् ।

.gif)


