काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन नै एक मात्र विकल्प भएको स्पष्ट बताएका छन्।

शुक्रवार शीतल निवासमा आह्वान गरिएको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा बोल्दै राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन सबै राजनीतिक दलहरूलाई आग्रह गरेका हुन् ।

राष्ट्रपति पौडेलले सरकारलाई शान्ति, सुरक्षा र निष्पक्ष वातावरणमा भयरहित निर्वाचन सुनिश्चित गर्न आवश्यक तयारी तत्काल थाल्न निर्देशन दिए ।

राष्ट्रपति पौडेलले राजनीतिक दलहरूबीच कुनै द्विविधा वा अस्पष्टता नराख्न आग्रह गर्दै भने, ‘निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने त्यसले देशलाई अनिश्चिततामा पुर्‍याउनेछ। लोकतन्त्रको रक्षा सबै दलको साझा जिम्मेवारी हो।’

उनीले दलहरूलाई जनतामा गएर ‘जेनजी’ आन्दोलनले उठाएका वैध मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै विश्वासको वातावरण बनाउन पनि सुझाव दिए । साथै, उनले दलका नेताहरूको सुरक्षासम्बन्धी चिन्तालाई सरकारले तुरुन्त सम्बोधन गर्नुपर्ने बताए।

बैठकमा सहभागी दलका नेताहरूले लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने सबै दल निर्वाचनमा जान तयार रहेको तर हालको सुरक्षा व्यवस्थाले निष्पक्ष र स्वतन्त्र निर्वाचनमा प्रश्न खडा गरेको बताएका थिए । उनीहरूले सरकारलाई शंका र संशय हटाएर जनतामा विश्वास जगाउने ठोस कदम चाल्न आग्रह गरे।

बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री पुष्कर कार्की सहित सबै मन्त्री उपस्थित थिए । यस्तै बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुन सहभागी थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबहाक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषाल सहभागी थिए।

त्यस्तै, जनता समाजवादी पार्टीबाट रेनु यादव, जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा जय कुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ती पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती सहभागी रहेका थिए ।