काठमाडौं - नेपाल चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएको छ । शनिबार मध्यराति सरकार र डा. गोविन्द केसीबीच ८ बुँदे सहमति भएपछि चिकित्सक संघले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको हो । संघले आइतबार विहान एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिएको घोषणा गरेको हो ।

विज्ञप्तिमा लेखिएको छ, ‘यस संघका आजीवन सदस्य प्राध्यापक डा. गोविन्द केसीको १९ औं आमरण अनशनका सम्बन्धमा मिति २०७७ आश्विन २४ गते राति नेपाल सरकार र डा. केसीबीच सम्झौता भएकाले संघद्वारा घोषणा गरिएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको व्यहोरा यसै विज्ञप्तिमार्फत् जानकारी गराइन्छ ।’ डा. केसीको जीवन रक्षाका निम्ति सरकार गम्भीर नभएको भन्दै संघले आइतबार आकस्मिक र कोभिड–१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने निर्णय गरेको थियो ।

शनिबार मध्यराति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले आज अनसन तोड्दै छन् ।