धनुषा - धनुषामा सवारी दुर्घटना हुँदा एक जना ट्राफिक प्रहरीको मृत्यु भएको छ । 

सोमबार जनकपुर उपमहानगरपालिका–४, मुरलीचोकमा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार ट्राफिक प्रहरी हवल्दार चन्द्रकला महतोको मृत्यु भएको हो ।

उनी जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिइन्। आज बिहान भ्रमरपुराचोकबाट मुरलीचोकतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ प ०१०४ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश २–०२–००२ प ७३५२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी महतोलाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

 महतोको शव परीक्षणका लागि प्रादेशिक अस्पताल, जनकपुर पठाइएको छ । घटनापछि ठक्कर दिने टिपर र त्यसका चालकलाई ट्राफिक प्रहरी कार्यालय जिरोमाइलले नियन्त्रणमा लिएको छ । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।