काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ली चान्शु नेतृत्वको प्रतिनिधिमण्डलले ओली नेतृत्वको प्रतिनिधिमण्डलसँग मंगलबार सङ्घीय संसद भवन नयाँ बानेश्वरमा शिष्टाचार भेटवार्ता गरेका हुन् । 

अध्यक्ष लीले आजै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि शिष्टाचार भेट गरेका छन् । अध्यक्ष लीले यही भदौ ३० गतेसम्म गर्ने चारदिने औपचारिक भ्रमणका क्रममा यही भदौ २९ गते बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । 

प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यक्ष लीले आज अपराह्न शिष्टाचार भेटवार्ता गर्नेछन् । लीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज भेट गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि अध्यक्ष लीको आज भेटवार्ता हुनेछ ।

चिनियाँ प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । 

अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम छ ।