काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज जारी रहने भएको छ। 

बैठक पार्टी कार्यालय सानेपामा दिउसो १ बजे सुरु हुनेछ। त्यसअघि बिहान ११ बजे पार्टी कार्यालयमै अनौपचारिक छलफल पनि राखिएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। हिजो बसेको बैठकमा अधिकांश नेताहरूले आगामी मंसिरभित्रै विधि प्रक्रिया पूरा गरेर महाधिवेशन गर्नतर्फ अग्रसर हुनुपर्ने बताएका थिए। 

बोल्न बाँकी रहेका नेताहरुले आज आफ्नो धारणा राख्नेछन्। कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले अहिलेको अवस्थामा सबै दलबीच समान धारणा बनाउन आवश्यक रहेको निष्कर्ष कांग्रेसले निकालेको जानकारी दिए। बैठकले असोज २६ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्नेछ।