काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहुने बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले सरकारले यस विषयमा विशेष ध्यान दिएको दाबी गरेका हुन् । उनले हालको मौज्दात र आउने क्रममा रहेको मलको विस्तृत विवरण सार्वजनिक गरे ।

उनले हाल कृषि सामग्री कम्पनीसँग २९ हजार १११ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेसनसँग १३ हजार ७१२ मेट्रिक टन गरी कुल ४२ हजार ८२३ मेट्रिक टन युरिया, डिएपी र पोटास मल मौज्दात रहेको जानकारी दिए ।

साथै, थप १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा रहेकाले किसानलाई अभाव नहुने उनको दाबी छ ।

प्रधानमन्त्री ओलीले कतै मलको अभाव महसुस भएमा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन किसानहरूलाई अनुरोध गरेका छन्। ‘खेतबारी हराभरा बनाऔं,’ उनले लेखेका छन् ।