मनाङ - मनाङको चामे क्षेत्रमा पहिरो खसेर मर्स्याङ्दी नदीको बहाव प्रभावित भएको छ। पहिरोका कारण केही समय नदी थुनिए पनि अहिले नदीको बहाव आंशिक रूपमा सुचारु भएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

तर, पहिरो खस्ने क्रम नरोकिएकाले मर्स्याङ्दी नदीको तटीय क्षेत्र, करिडोर तथा आसपासका बस्तीमा जोखिम बढेको प्रशासनले जनाएको छ। ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि अर्को सूचना जारी नभएसम्म नदी आसपासका बासिन्दालाई सतर्क रहन तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

पहिरो र नदीको बहावका कारण थप जोखिम हुन सक्ने भएकाले नदीको बहाव तथा पहिरोको अवस्थाबारे निरन्तर निगरानी भइरहेको सम्बन्धित निकायले जनाएको छ।