काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गते आफू र पत्नीमाथि भएको आक्रमणबाट ज्यान जोगाउन जेनजी आन्दोलनका केही सदस्य र नेपाली सेनाले महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन् ।

मंगलबार पत्रकारहरूसँगको भेटघाटमा देउवाले यस्तो दाबी गरेका हुन् । जेनजी आन्दोलनमा घुसपैठ भएको आरोप लगाउँदै देउवाले उद्धारका लागि आएको सेनाको हेलिकोप्टरसमेत बदमासहरूले ल्यान्ड गर्न नदिएको बताए ।

भदौ २४ गतेको घटनालाई स्मरण गर्दै उनले भने, ‘यसरी आक्रमण होला भन्ने त कल्पनै थिएन। घरमै बसिरहेका बेला चारैतिरबाट घेरेर आक्रमण भयो। मलाई त्यो बेला नेपाली सेना र जेनजीले नै बचाएका हुन् । उद्धार गर्न आएको हेलिकोप्टरसमेत बदमासहरूले ल्यान्ड गर्न दिएनन् ।’

सभापति देउवाले जेनजी आन्दोलनको नाममा कांग्रेस र एमाले लक्षित आक्रमण गरिएको दाबी गरे । उनका अनुसार सबैभन्दा धेरै क्षति कांग्रेसका नेताका घर र पार्टी कार्यालयमा पुगेको छ भने त्यसपछि एमालेको संरचनामा आक्रमण भएको देखिन्छ।

‘हाम्रोभन्दा माओवादीको केही कम क्षति भयो, तर राजावादी र रास्वपाका नेताका घरहरूमा केही पनि भएको छैन,’ देउवाले भने।