काठमाडौ - सेन्चुरी बैंकमा रेमिटेन्स रकम हिनामिनादेखि विभिन्न काण्डहरु भैरहेको समाचार आइरहेको छ भने बैंकले कर्जा प्रवाहमा समेत डरलाग्दो सेटिङ गर्ने गरेको तथ्य बाहिरिएको छ ।

डेनियम लेबोरेटरीज र खड्का ईण्डष्ट्रिजलाई प्रवाह गरेको करिब  ५५ करोड कर्जामा व्यापक वदनियत  भएको प्रमाण भेटियो । उक्त बैंकले कर्जामा प्रोभिजन गरेको भएता पनि कर्जा प्रवाह गर्दा अपनाउनु पर्ने साधारण सावधानी समेत नअपनाएको देखिन्छ । निरिक्षणमा खटिएका नेपाल राष्ट्र बैंकका कर्मचारी समेतको मिलेमतोमा प्रतिवेदन टालटुले मात्र बनाइएको देखिन्छ । कर्जा प्रवाहमा भएका वदनियतमा संलग्न व्यक्तिहरुबारे राष्ट्र बैंक निरिक्षण टोलीको प्रतिवेदनमा केही छैन बरु केही कर्जाहरुमा राष्ट्र बैंककै टोलीले नै प्रोभिजनमा नराख्न भन्ने गरेको बैंकका कर्मचारीहरुको भनाइ छ । 

संचालक समितिको प्रभाव र नियामकको कमजोर अनुगमन भए पनि सेन्चुरी बैंकको आन्तरिक लेखा परिक्षणले कर्जा प्रबाहमा ब्यापक अनियमितता भएको र बदनियत भएको संचालक समितिलाई बुझाएको प्रतिबेदनमा उल्लेख छ । उक्त प्रतिवेदनमा अनियमितता भएको प्रष्टसंग लेखेपछि आन्तरिक लेखा परिक्षणका कर्मचारीहरुको सरुवा गर्नेदेखि अनेक धाक धम्कीसम्म कर्मचारीहरुले बेहोर्नु परेको स्रोतको भनाइ छ ।

प्राइम बैंकमा डुब्न लागेको कर्जा सेन्चुरी बैंकमा

खड्का ईण्डष्ट्रिज ग्रुपलाई सेन्चुरी बैंकबाट प्रवाह गरेको करिब  २७ करोड कर्जा सेन्चुरी बैंकको बोर्डको दबाबमा दिएको बुझिएको छ । उक्त ग्रुपका ७ वटा यूनिटले शुरुमा प्राइम कमर्शियल बैंकबाट २१ करोड कर्जा लिएको थियो तर उक्त कर्जा त्याहाँ डुब्न लागेपछि प्राइम बैंकले कर्जा तिर्न दबाव दिएको र  त्यस पछि सेन्चुरी बैंकका अध्यक्ष  राजेश श्रेष्ठले सेन्चुरीको व्यवस्थापनलाई दबाव दिइ ४ चार वटा यूनिटमा कर्जा प्रवाह गरी प्राइममा रहेको सातै वटा यूनिटको कर्जा तिरेको देखिन्छ । यसरी ४ वटा यूनिटले लिएको कर्जाले अन्य तिन वटा यूनिट समेतको कर्जा तिर्नु कर्जाको व्यापक अनियमितता भएको जानकारहरु बताउँछन् । 

कर्जा उपलब्ध गराउँदा साधारण कुराहरु अर्को बैंकमा भएको कारोबार सम्बन्धी बैंक स्टेटमेन्ट समेत अध्ययन नगरी ईन्डष्ट्रिजको वित्तिय विवरण लिंदा “डि” क्लासको लेखापालबाट लिई अत्यधिक बढी कर्जा प्रदान गरेको र ईण्डष्ट्रिज निरिक्षण गर्दा ऋणीले उक्त उद्योग संचालन नगरी अरुले नै संचालन गरिरहेको र लामो समयदेखि ऋणी उक्त उद्योगमा संलग्न नभएको कर्जा लगानी गर्दा नै कर्जाको परिचालन आन्तरिक कार्यमा नभई अन्य माध्यममा नमस्ते बचत तथा ऋण शहकारीबाट भएको बैंकले उपलब्ध गराएको अल्पकालिन कर्जा रकम रुं १४ करोड इन्डष्ट्रिजको आन्तरिक प्रयोजनमा प्रयोग नगरी अन्यत्र प्रयोग गरी व्यापक अनियमितता गरेको स्रोतको भनाइ छ ।

प्राइम बैंकको कर्जा भूक्तानी गर्न सेन्चुरीले कर्जा दिनु पर्ने कारण के ? प्राइम बैंकमा हालका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र सेन्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठको अत्यधिक लगानी रहेको छ, तर सेन्चुरी बैंकमा कम लगानी भएपनि राजेश श्रेष्ठ संचालक समितिका अध्यक्ष रहेका छन् । एक बैंकमा लगानी तर अर्कोमा अध्यक्ष संचालक हुँदा बैंकलाई पर्ने असर कर्जा प्रबाहमा भएको अनियमितताले प्रष्ट  देखाउँछ । 

बैंकको आन्तरिक लेखा परीक्षण प्रतिबेदन यस्तो छ 

No description available.

यतिमात्र हैन डेनियम लेवोरेटरीज प्रा.लिलाई बैंकको संचालक समितिले प्रदान गरेको करिब रु.२४ करोड कर्जामा व्यापक वदनियत देखिएको छ । कर्जा प्रवाह गर्दा विनोद कुमार खण्डेलवालको अनुभव, नेटवर्थ तथा व्यक्तिगत जमानी लिइएको र पछि सजिलै खण्डेलवाललाई निकास दिइ कुनै अनुभव तथा नेटवर्थ नभएको व्यक्तिहरुको नाममा गरिएको छ त्यसैगरी कम्पनीको थोत्रो मेशिनरीलाई नयाँ मेशिनको मूल्य कायम गरिएको, १३ वर्ष पुरानो भवनमा ह्रास कट्टि लागू नगरेको लगायतका कार्य गरी सम्पत्तिको अत्यधिक मूल्याँकनलाई कर्जा प्रवाहको आधार मानिएको छ । 

नेपाल राष्ट्र बैंकलाई हरेक बैंकले आन्तरिक लेखा परिक्षण प्रतिवेदन पठाउनुपर्छ र सेन्चुरी बैंकले समेत पठाएको छ । तर राष्ट्र बैंकले कर्जाको प्रोभिजन भए नभएको मात्र हेर्ने गरेको पाइएको छ । कर्जा प्रवाहमा भएको बदनियत र बैंकलाई त्यसबाट पर्ने प्रभावलाई सेन्चुरी बैंकको हकमा नियामक अति नै लचिलो देखिएको छ । नियमनमा खटिने राष्ट्र बैंकका कर्मचारी कि त बैंकका अध्यक्ष राजेश श्रेष्ठको स्कुलमा पढेका हुन्छन कि त उस्को छोरा छोरी नै पढिरहेका हुने भएकाले  पनि  निरिक्षण प्रभाव परेको एक कर्मचारीले बताए । 

खबर एक्सप्रेसलाई  बैंकको आन्तरिक लेखा परीक्षण प्रतिबेदन लगाएका प्रमाणहरु प्राप्त भएको भएपनि स्रोतको सुरक्षाको कारण सबै प्रकाशित गरिएको छैन सम्बन्धित निकायले मागे उपलब्ध गराउने छौं ।