काठमाडौं - पशुपति क्षेत्र विकास कोषले प्राचीन स्मारक संरक्षण ऐन र शैव दर्शनविपरीत हुने गरी पशुपतिनाथको शिवलिंगमा सुनको जलहरी राख्ने भएको छ । प्राचीन स्मारक संरक्षण ऐनले सम्पदा स्थलमा कुनै पनि नयाँ संरचना राख्न निषेध गरेको छ ।

यसअघि कोषले शिवलिंगमा सुनको जलहरी राख्न लाग्दा मन्दिरकै भण्डारी, स्थानीय बासिन्दा र सम्पदा संरक्षणकर्मीको विरोधले काम रोकिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सुनको जलहरी राख्ने प्रक्रिया अघि बढेको हो । ‘शैव दर्शनअनुसार पशुपतिनाथलाई जलहरी लगाइदिन मिल्दैन,’ पशुपतिनाथका पालोवाला भण्डारी विजयराज भण्डारीले भने, ‘हामी यस्तो कामको विरोध गर्छौं ।’

कोष सञ्चालक परिषद्को बुधबार बसेको बैठकले सुनको जलहरी राख्ने काम अघि बढाउने निर्णय गरेको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए । ‘यही शिवरात्रिसम्ममा राखिसक्ने गरी काम अघि बढेको छ,’ उनले भने । प्रधानमन्त्री ओलीले सोमबार पशुपतिमा दर्शन र संकल्प पूजा गर्ने क्रममा काम अघि बढाउन निर्देशन दिनुका साथै सरकारले तत्काल ३० करोड रुपैयाँ उपलब्ध गराउने घोषणासमेत गरेका थिए ।

 कान्तिपुर दैनिकबाट