काठमाडौं - चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४१८ सिट थप गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको आयोगको बैठकले यस वर्ष कुल ९ हजार ६९१ सिट निर्धारण गरेको हो। आयोगका अनुसार, गत शैक्षिक सत्रको तुलनामा यस वर्ष सिट संख्या ४१८ ले बढेको छ।

सिट निर्धारणका लागि देशभरका ९० शिक्षण संस्थाले स्वमूल्यांकन फाराम भरेर आवेदन दिएका थिए। अनुगमन टोलीको प्रतिवेदनका आधारमा ९० मध्ये ८४ शिक्षण संस्थाका लागि यस वर्ष सिट निर्धारण गरिएको आयोगले जनाएको छ। आयोगका सदस्यसचिव हरिप्रसाद निरौलाका अनुसार, एमबीबीएस कार्यक्रममा मात्रै गत वर्षको तुलनामा ११० सिट थप गरिएको छ।

यसअन्तर्गत सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पहिलोपटक एमबीबीएस अध्ययनका लागि ५० सिट प्राप्त गरेको छ। त्यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०–३० सिट थप गरिएको छ। एमबीबीएसमा थपिएका सबै सिट सरकारी शिक्षण संस्थाका लागि निर्धारण गरिएको निरौलाले बताए।

एमबीबीएसबाहेक अन्य चिकित्सा शिक्षा कार्यक्रमका सिट पनि उल्लेख्य रूपमा बढाइएको छ। बीएससी नर्सिङमा गत वर्षको तुलनामा २१० सिट र बीएमएसमा ९८ सिट थप गरिएको आयोगले जनाएको छ।