सिन्धुली - सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट टाटा सुमो गाडी सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।

आइतबार बिहान करिब २ः३० बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको टाटा सुमो सडकबाट करिब दुई सय मिटर तल सुनकोशी नदीमा खसेको हो ।

दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटनाको खबर पाएपछि रत्नावती र खाङसाङ प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनास्थलमा तीन महिलाको शव फेला परेको र चालकसहित चार जनालाई उद्धार गरी उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

घाइतेहरूको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा उपचार भइरहेको छ । दुर्घटनापछि तीन जना बेपत्ता छन्।

उनीहरूको खोजीका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली परिचालन गरिएको छ। प्रहरीले घटनास्थलमा खोज तथा उद्धार कार्यसँगै दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ।