काठमाडौ - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङ्‌कङमा प्रजातन्त्रको माग गर्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीहरूलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर गरेपछि चीनले आपत्ति जनाएको छ।

बिहीबार चीनले ट्रम्पद्वारा हस्ताक्षर गरिएको उक्त विधेयकलाई निस्तेज पार्ने गरी कडा कदम चाल्ने चेतावनी दिएको हो । आफ्नो आन्तरिक मामिलामा अमेरिकाले हस्तक्षेप गरेको र हस्तक्षेप गर्ने सबै कदमलाई असफल बनाउने चीनको भनाइ छ । चिनियाँ अधिकारीले ट्रम्पको कदमका कारण अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिएका छन् ।

बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले हङकङका प्रदर्शनकारीलाई समर्थन गर्ने एक विधेयकमा हस्ताक्षर गरेका थिए । उक्त विधेयकलाई अमेरिकी कंग्रेसले यसअघि नै पारित गरिसकेको छ । राष्ट्रपतिले हस्ताक्षर गरेपछि उक्त विधेयकले कानुनको रुप पाएको छ ।

ट्रम्पले “राष्ट्रपति सी (जिन्पिङ), चीन र हङ्‌कङका जनता”प्रति सम्मान व्यक्त गर्न आफूले नयाँ कानुनमा हस्ताक्षर गरेको बताएका थिए।

तर ट्रम्पको पछिल्लो कदमले बेइजिङ रुष्ट बनेको छ । चिनियाँ अधिकारीहरूले यसअघि समेत अमेरिकालाई चिनियाँ आन्तरिक मामिलामा “हस्तक्षेप नगर्न” चेतावनी दिएका थिए ।

विधेयकले हङ्‌कङ प्रहरीलाई भिड नियन्त्रण गर्न प्रयोग गर्ने अश्रुग्यास, रबरका गोली र स्टेन गनजस्ता अस्त्र निर्यातमा प्रतिबन्ध लगाइदिएको छ। विधेयकमा अमेरिकाले हङ्‌कङका नागरिकलाई विरोधका क्रममा पक्राउ परेको अवस्थामा पनि प्रवेशाज्ञा दिन सक्ने व्यवस्था गरिएको छ।

उक्त विधेयक गत जुन महिनामा हङ्‌कङमा प्रदर्शनहरू सुरु हुने बेलामा अमेरिकी कंग्रेसमा प्रस्तुत गरिएको । गत महिना कंग्रेसबाट उक्त विधेयक अत्यधिक बहुमतले पारित भएको थियो।