काठमाडौं - दक्षिण एसियाली खेलकुद (साग)का आयोजकले मन्त्रीलाई दौरा–सुरुवाल दिने निर्णयको बचाउ गरेको छ । मन्त्रिपरिषद्ले पारित गरेको कार्यविधिअनुसार र चलिआएको परम्पराअनुसार नै पोसाक दिएको उसको स्पष्टीकरण छ ।

‘साग सम्पन्न गर्न प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय निर्देशन समिति गठन गरिएको छ, समितिमा रहेका मन्त्रीहरूलाई पनि पदाधिकारीका रूपमा पोसाक दिइएको हो,’ १३औँ साग सचिवालयका प्रमुख कमल खनालले नयाँ पत्रिकासँग भने । खेलाडी र व्यवस्थापकलाई पोसाक दिनु स्वाभाविक भए पनि खेलकुदबाहेकका मन्त्रीलाई पनि पदाधिकारी मानेर पोसाक किन दिइयो भन्ने प्रश्नमा आयोजकमध्येका अर्का अधिकारी भन्छन्, ‘विगतमा पनि तत्कालीन युवराजाधिराजसम्मलाई यसै गरी पोसाक दिने गरिएको थियो, त्यो हाम्रो परम्परा हो, त्यसैले मन्त्रीहरूलाई पोसाक दिनु नौलो विषय होइन ।’

नीतिगत निर्णयअनुसार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले दौरा–सुरुवाल र कोट लिइसकेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दौरा–सुरुवालबारे आफूलाई जानकारी नै नभएको दाबी गरेका छन् । 

नयाँ पत्रिका दैनिकबाट