काठमाडौं - सशस्त्र प्रहरी परिवार महिला संघले भोटेकोशी बाढीबाट प्रभावित सशस्त्र प्रहरी कर्मचारी, उनीहरूका आश्रित परिवार तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम उपलब्ध गराएको छ ।
संघकी अध्यक्ष सावित्रा कुमारी पौडेलले असोज २६ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा राहत रकम हस्तान्तरण गरेकी हुन् ।
भोटेकोशी बाढीमा बहालवाला १३ जना र अवकाशप्राप्त एक जना गरी १४ जना सशस्त्र प्रहरी कर्मचारी बेपत्ता भएका थिए । बाढीमा एक जना अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी घाइते भएका थिए भने दुई जना सशस्त्र प्रहरी कर्मचारीका परिवारसमेत बेपत्ता भएका थिए ।
संघले बेपत्ता भएका बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई जनही २५ हजार रुपैयाँ, परिवारका सदस्य बेपत्ता भएका सशस्त्र प्रहरी कर्मचारीलाई जनही १० हजार रुपैयाँ र घाइते अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई १० हजार रुपैयाँ उपलब्ध गराएको छ ।
अध्यक्ष पौडेलले बेपत्ता सशस्त्र प्रहरी सहायक हवल्दार कृष्णकुमार कार्की, आशिष पौडेल र जवान साजन कुँवरका परिवारलाई राहत रकम हस्तान्तरण गरेकी छन् । त्यसैगरी, अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक बलबहादुर घर्ती मगरका परिवार तथा परिवारका सदस्य बेपत्ता भएका दुई महिला सशस्त्र प्रहरी कर्मचारीलाई पनि रकम प्रदान गरिएको छ ।
बेपत्ता भएका अन्य सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई भेट गरी राहत रकम उपलब्ध गराइने संघले जनाएको छ ।
यसैबीच, संघकी अध्यक्ष पौडेलले सशस्त्र प्रहरी बल नेपालको विपद् कोषमा जम्मा गर्न ५० हजार ५ सय ५५ रुपैयाँ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनीकुमार पोखरेललाई हस्तान्तरण गरेकी छन् ।
सशस्त्र प्रहरी परिवार महिला संघले आफूलाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न आयमूलक गतिविधि सञ्चालन गर्दै आएको छ । ती गतिविधिबाट संकलित रकमबाटै बाढीपीडितलाई राहत उपलब्ध गराइएको संघले जनाएको छ ।

.gif)



