बजेट अधिवेशन सुरु
काठमाडौं - सङ्घीय संसद्को छैटौँ अधिवेशन सुरु भएको छ । सामाजिक दुरी कायम गरी अपराह्न ४ बजेबाट बजेट अधिवेशन सुरु भएको हो ।
अधिवेशन सुरु हुनुअघि बिहीबार तथा शुक्रबार प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य तथा संसद सचिवालयका कर्मचारीहरुको कोरोना परिक्षण भएको थियो । उनीहरुमा कोरोनाको संक्रमण भएको वा नभएको एकिन गरेरमात्रै बैठकमा प्रवेश दिइएको हो ।
कोरोना सङ्क्रमण रोकथामका लागि सतर्कता अपनाउन सांसद बस्ने सिटमा दायाँबायाँ एक मिटर ५० सेन्टीमिटर र पछाडि एक ३० सेन्टीमिटर दूरी कायम गरिएको छ ।
संसद बैठक संचालन गर्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । बैठकका लागि कोरोनाको जोखिम हुन नदिन आवश्यक सबै मापदण्ड पूरा गरिएको उनले बैठक अघि जानकारी दिएका थिए ।
संवैधानिक व्यवस्थाअनुसार अगामी जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यसअघि पूर्वतयारीका छलफल तथा अन्य कार्यक्रमका लागि हाल बजेट अधिवेशन प्रारम्भ गरिएको हो ।
आजबाट बैठक सुरु भएसँगै यही वैशाख २८ गतेदेखि ३० गतेसम्म प्रि बजेट छलफल हुने, आगामी जेठ २ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने, जेठ १३ गते आर्थिक सर्वेक्षण र जेठ १५ गते बजेट प्रस्तुत हुने कार्यक्रम तय भएको छ ।
राष्ट्रपतिले यही वैशाख २१ गते छैटौँ अधिवेशन आह्वान गरेकी थिइन् । सङ्घीय संसद्का प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५८ सांसद छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस