एजेन्सी - अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा मानवीय क्षति नभएको बताएको भएपनि न्युयोर्क टाइम्सले कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ ।

न्युयोर्क टाइम्सले आइतबार प्रकाशित गरेको एक रिपोर्टअनुसार अमेरिकी सेनाले राष्ट्रपति निकोलस मादुरोलाई ‘अपहरण’ गर्ने उद्देश्यले भेनेजुएलामा गरेको सैन्य आक्रमणमा सर्वसाधारण र सैनिकहरू मारिएका छन् ।एक रिपोर्टमा भनिएको छ, ‘अमेरिकी आक्रमणमा सर्वसाधारण र सैनिकसहित कम्तीमा ४० जनाको ज्यान गएको छ ।’

आक्रमणमा ‘१५० भन्दा बढी अमेरिकी विमान प्रयोग गरी हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पारिएको, त्यसपछि सैन्य हेलिकोप्टरमार्फत सैनिकहरू पठाइएको र उनीहरूले मादुरो बसेको घरमा आक्रमण गरेको’ रिपोर्टमा लेखिएको छ ।

यद्यपि, अमेरिकाको ह्वाइट हाउस वा पेन्टागनले मृतकको संख्या वा अपरेसनको पूर्ण विवरणबारे तत्काल कुनै सार्वजनिक पुष्टि गरेको छैन ।

अमेरिकाले शनिबार राजधानी काराकासलगायतका शहरहरूमा भीषण आक्रमण गरेर त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको थियो । अहिले उनीहरूलाई अमेरिकाले न्युयोर्कको हिरासतमा राखिएको छ ।

अमेरिकी सेनाले शनिबार बिहानै मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिई भेनेजुएलाबाट बाहिर लगेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई रातारात गरिएको सफल अपरेसन भनेका छन् ।