काठमाडौं - निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने मतपत्रमध्ये ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको जनाएको छ । 

‘आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आज सम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको छ,’ निर्वाचन आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाल दैनिक सरदर ८ लाख थान मतपत्र छपाई कार्य भइरहेको छ ।’ 

आवश्यक पर्ने कूल मतपत्रमध्ये ३६.२५ छपाई सम्पन्न भएको आयोगले जनाएको छ । जसमा ३९ जिल्लाका लागि मतपत्र छपाइको काम सम्पन्न भएको छ । आयोगले सुरुमा दुर्गमका जिल्लाका लागि मतपत्र छपाइ सुरु गरेको थियो । दुर्गमका जिल्लामा सुगमका जिल्लामा भन्दा अगावै मतपत्र ढुवानी गरिसक्नुपर्ने भएकाले पहिले ती जिल्लाका लागि मतपत्र छपाइ गरिएको हो । 

साथै नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्धारित स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरू राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट आएकोप्रति आयोगको ध्यानाकर्षण भएको जनाएका छन् । उनले भने-‘आयोगले नोटिस गरिरहेको छ । जसमध्ये कतिपयलाई आयोगले पत्राचार गरिसकेको छ । अब आयोगले उहाँहरूसँग बुझ्ने, स्पष्टता खोज्ने र त्यसपछि आवश्यक कारवाही गर्छ ।’