काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवादबीच पूर्वसभापति शेरबहादुर देउवा पक्षले आजदेखि छुट्टै वडा अधिवेशन सुरु गर्दैछ ।

संस्थापन पक्षले असोज १८ गतेदेखि १५औँ महाधिवेशन गर्ने तयारी अघि बढाइरहेका बेला देउवा पक्षले समानान्तर रूपमा महाधिवेशन प्रक्रिया अघि बढाएको हो। देउवा पक्षले आफ्नो महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

सोही कार्यतालिकाअनुसार आज वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी गरिएको छ। उक्त कार्यतालिकाबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइसकिएको नेता किरणराज पौडेलले बताए।

देउवा पक्षले ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत खटाएको जनाएको छ। आज हुने वडा अधिवेशनका लागि भने ५६ जिल्लामा निर्वाचन संयोजक परिचालन गरिएको छ।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अहिले महाधिवेशन गर्न नहुने देउवा पक्षको अडान थियो। तर संस्थापन पक्ष असोज ३ गतेदेखि नै महाधिवेशन प्रक्रियामा अघि बढेपछि देउवा पक्षले पनि छुट्टै कार्यतालिका बनाएर अधिवेशन प्रक्रिया अघि सारेको हो।