बागलुङ - जिल्लाको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको हत्या प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले आइतबार पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी गराएका हुन् ।

पक्राउ पर्नेमा सुदिप विक, रेमबहादुर विक, ददी परियार र असिम वन रहेका छन् । 

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार आइफोनसँग सम्बन्धित विवादपछि भएको कुटपिटका क्रममा लजिनको मृत्यु भएको खुलेपछि उनीहरुलाई पक्राउ गरिएको हो।

साउन १ गते राति लजिन आफ्ना साथी असिम वनको जन्मदिन मनाउन दगातुन्डाँडा प्राथमिक विद्यालय पुगेका थिए। त्यहाँ लजिनसहित सात जना साथीहरूले राति करिब १०:३० बजेदेखि बिहान ३ बजेसम्म मादक पदार्थ सेवन गरेका थिए। 

प्रारम्भिक अनुसन्धानअनुसार सोही क्रममा आइफोनको विषयलाई लिएर विवाद हुँदा उनीमाथि कुटपिट भएको थियो । लजिन सो दिन घर नफर्किएपछि उनको परिवारले भोलिपल्ट अर्थात् साउन २ गते इलाका प्रहरी कार्यालय गलकोटमा खोजतलासका लागि निवेदन दिएका थिए ।

त्यसपछि गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोली, तालिमप्राप्त कुकुर, पोलिग्राफ परीक्षण, ड्रोन क्यामेरा तथा स्थानीयवासीको सहयोगमा व्यापक खोजी अभियान सञ्चालन गरिएको थियो। अनुसन्धानकै क्रममा साउन ९ गते बिहान बडिगाड गाउँपालिका–१ अन्तर्गत मनखोलाको खोल्सामा लजिनको शव फेला परेको थियो। 

हाल शव परीक्षणका लागि धौलागिरि प्रादेशिक अस्पताल, बागलुङमा राखिएको छ। पक्राउ परेकाहरू माथि यसअघि व्यक्ति बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान सुरु गरिएको भए पनि शव फेला परेपछि हत्या सम्बन्धी अनुसन्धानलाई थप अघि बढाइएको छ।

प्रहरीले घटनाको वास्तविक कारण, संलग्न व्यक्तिहरूको भूमिका तथा अन्य सम्भावित पक्षबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।