लोभ देखाएर आफ्नै मान्छेले पुर्याउँछन् महिलालाई कोठीमा
काठमाडौं - सिन्धुलीकी २५ वर्षीया लक्ष्मी (नाम परिवर्तन) लाई चिनेजानेकै एक व्यक्तिले आठ महिनाअघि जागिरको प्रलोभन देखाए। उनले भने, ‘भारत जाऔं, नयाँ दिल्लीमा इलेक्ट्रोनिक्स अफिसभित्र अकाउन्टेन्टको काम लगाइदिन्छु।’ नजिकका मान्छेले राखेको प्रस्ताव भएकाले त्यसप्रति लक्ष्मीलाई विश्वास लाग्यो । खर्च अभावले दैनिकी धान्न मुस्किल परिरहेको बेला केही त होला नि भन्दै उनी भारत जान मन्जुर भइन् ।
उनलाई भारतमा जागिर खान जान विश्वस्त पार्ने ती व्यक्ति थिए सिन्धुलीकै राम बस्नेत। बस्नेतकै साथी सुरज थापाले पनि लक्ष्मीलाई सम्झाइबुझाइ गरेका थिए । उनीहरू बेलाबेलामा लक्ष्मीको घरमा आइरहन्थे र भारत गएर रोजगारी गरे राम्रो हुने कुरा गरिरहन्थे। लक्ष्मीले स्वीकृति जनाएपछि हिँड्ने मिति तय भयो। चैतमा उनीहरू सिन्धुलीबाट हिँडे। उनीहरूले भारत पुर्याई जागिरमा लगाइदिएर मात्रै फर्कने भनी लक्ष्मीलाई भनेका थिए। सिन्धुलीबाट हिँड्नुअघि उनीहरूबीच निजी गाडीमा वीरगन्जसम्म गई त्यहाँबाट बसमा जाने सल्लाह भएको थियो। सोही सल्लाहमुताबिक वीरगन्ज पुगेपछि उनीहरूले भारतको दिल्लीका लागि बसको टिकट काटे।
लक्ष्मीलाई जागिर लगाइदिन्छु भन्ने रामले वीरगन्जमा पुगेपछि अर्की एकजना साथी पनि भेटाइदिने कुरा गरे। सँगै जान साथी हुने भयो भनी उनी रमाइन्। झापाकी २५ वर्षीय सविना ९नाम परिवर्तन० वीरगन्जमा उनीहरूलाई कुरिरहेकी थिइन्। लक्ष्मीलाई जस्तै उनलाई पनि जागिरको आशा देखाइएको थियो । वीरगन्जमा लक्ष्मीलाई सविनासँग भेट गराइयो। त्यहाँबाट चारैजना दिल्लीका लागि हिँडे। एक रात र एक दिनको बसयात्रापछि उनीहरू दिल्ली पुगे। त्यहाँ पुग्दा लक्ष्मी र सविना थकित भइसकेका थिए।
बसबाट ओर्लिएपछि सँगै आएका राम र सुरजले लक्ष्मी र सविनालाई पहिलो दिन आराम गर्ने र अर्को दिनदेखि मात्र काममा जाने कुरा गरे। थकित शरीरले आराम मागिरहेको बेला दुवैजना उक्त प्रस्ताव मान्न तयार भए। उनीहरूले त्यो रात दिल्लीको एक होटलमा बिताए। सँगै गएका ती दुई पुरुषले पनि लक्ष्मी र सविनाकै कोठामा सुत्ने कुरा गरे। सुरुमा त लक्ष्मी र सविनाले अप्ठ्यारो माने र विरोध जनाए । उनीहरूले जबर्जस्ती गरेपछि बिरानो ठाउँमा इन्कार गर्न सकेनन् । त्यो रात ती दुई पुरुषले लक्ष्मी र सविनालाई यौन सम्पर्कका साथी बनाए ।
नागरिक दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस