चिनियाँ राष्ट्रपतिद्वारा प्रम ओलीको शीघ्र स्वास्थ्यलाभको कामना
काठमाडौं - चीनका राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई शनिबार एक सन्देशमार्फत चीन सरकार, त्यहाँका जनता र स्वयं आफ्नोतर्फबाट प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए।
चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सीले सन्देशमा दुई देश तथा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीचको सम्बन्धलाई थप विस्तार गरिने बताए ।
परस्पर सम्बन्धलाइृ गतिशील बनाउन तथा दुई देशका जनताको हितमा द्वीपक्षीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री ओलीसँग काम गर्न प्रतीक्षारत रहेको सीले उल्लेख गरेका छन्।
यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, भुटानका प्रधानमन्त्री डा। लोट्टी छिरिङ र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । प्रधानमन्त्री ओलीको बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस