काठमाडौं - सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । स्थानीय तह निर्वाचनमा पालिकाहरूको भागबण्डालगायतका विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुसहितको चुनावी तयारी तथा अनुगमन समिति बैठक बसेकाे हो । 

स्थानीय तहको निर्वाचन आउन २५ दिन बाँकी छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ । मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका सहितका स्थानीय तहमा उम्मेदवार त परै जाओस् सिटको भागवण्डा पनि मिलाउन सकेको छैन ।

आइतबार बसेको बैठकमा कुन महानगर र उपमहानगर कसले लिने भन्नेबारे छलफल भए पनि निर्णयमा पुगेको थिएन।नेकपा माओवादी केन्द्रले एक महानगर र चार उपमहानगरपालिकामा दाबी गरेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले भने ६ वटा महानगर र ११ वटा उपमहानगरपालिमा आआफ्नै अडान कायम राखेका छन् ।