काठमाडौं - गोरखा पालुङटार नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट उमेदवारी दिएका ५२ जनाले सामूहिक राजीनामा दिएका छन्। नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, महिला वडा सदस्य, दलित वडा सदस्य र दुई खुला वडा सदस्य गरी १० वटै वडाको लागि उमेदवारी दर्ता गराएका उनीहरुले सामूहिक राजीनामा दिएका हुन्।

सत्तारुढ गठबन्धनले पालुङटारमा जनता समाजवादी पार्टी (जसपा)लाई नेतृत्व दिने गरी परिपत्र गरेर उमेदवारी फिर्ता गराएपछि सबै उमेदवारले सामूहिक राजीनामा दिएका हुन्। सभापति शेरबहादुर देउवालाई जसपा संघीय परिषद अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दबाब दिएका कारण देउवाको दबाबमा उमेदवार फिर्ता लिएका थिए।

मेयरको उमेदवार रहेका दीपकबाबु कँडेलले केन्द्रको निर्देशन मान्दै उमेदवारी फिर्ता लिएका थिए। त्यसपछि उक्त नगरमा कांग्रेसका उमेदवार रहेका सबैले उमेदवारी फिर्ता गरेका हुन्।

विज्ञप्तीमा जसापा नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइको दबाबकै कारण नेपाली कांग्रेस पालुङटारले आफ्नो नगर प्रमुख पदको उमेदवारी फिर्ता गर्न लगाउन खोज्नु आपत्तिजनक भएको उल्लेख छ। नगर प्रमुख पदको उमेदवारी फिर्ता गरि अन्य कुनै पार्टीको उमेदवारलाई समर्थन गर्नुपरेमा कांग्रेस पालुङटार नगरपालिकाको सबै ५२ जना उमेदवारहरुकै सामूहिक रुपमा राजीनामा दिने निर्णय भएको विज्ञप्तीमा उल्लेख छ।