काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले भ्रष्टाचारबाट जम्मा भएको भनिएको कालो धन बाहिर ल्याउन नेपालमा नोटबन्दी गर्न सरकारसँग माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै न्यौपानेले वर्षौंदेखि भ्रष्टाचार तथा अनियमितताबाट जम्मा भएको रकम बैंकिङ प्रणालीमा ल्याउन निश्चित दरका नोट बन्द गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन्। उनले ३५ वर्षदेखि देश लुटेर जम्मा गरिएको भनिएको कालो धन विभिन्न ठाउँमा लुकाइएको दाबी गर्दै त्यसलाई बाहिर ल्याउन नोटबन्दी आवश्यक रहेको बताए।

उनले भने- '३५ वर्षदेखि देश लुटेकाहरूले राखेको कालो धनका कारण आज उनीहरूले शक्ति प्राप्त गरे। यो देशका विरुद्धमा, प्राप्त जनमतका विरुद्धमा संघर्ष गर्ने भनेर यताउता सुनिँदै छ। हामीलाई थाहा छ, यो पैसा कालो र यो देश लुटेको धन हो। यो पैसाको व्यवस्थापन उनीहरूले विभिन्न ठाउँमा गरेको सुनिएको छ। त्यसैले नोटबन्दी गर्नुपर्‍यो।' आवश्यक परे नयाँ नोटसमेत जारी गर्नुपर्ने उनको प्रस्ताव छ।

न्यौपानेले भ्रष्टाचारबाट जम्मा भएको भनिएको रकमलाई राज्यको वित्तीय प्रणालीमा ल्याउनुपर्नेमा जोड दिँदै भने, ‘यी भ्रष्टाचारीहरूले लुकाएको पैसा खरानीमा परिणत गरौँ। यिनीहरूले गर्दै गरेको षड्यन्त्र हामीले यहीँ तुहाऔँ।’ उनले भारतमा समेत निश्चित दरका नोट बन्द गरिएको उदाहरण दिँदै नेपालले पनि त्यसबाट सिक्नुपर्ने बताए।

दुलालले गरे नोटबन्दीको मागमा समर्थन

न्यौपानेले प्रस्ताव राखेलगत्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले त्यसमा समर्थन जनाए।

दुलालले ५०० र १ हजार रुपैयाँका नोट बन्द गर्न सरकारसँग तत्काल कदम चाल्न माग गरे। उनले भने- 'उहाँले राखेको प्रस्तावमा पूर्ण समर्थन गर्दै रास्वपाको सरकारलाई अविलम्ब पुराना १ हजार र ५०० का नोटहरूलाई नोटबन्दी गर्न जोडदार रूपमा सरकारसँग माग गर्दछु। यो १ हजार र ५०० को भ्रष्टाचार गरेर राखेको नोटबन्दी गर्न तपाईंलाई केले छेक्यो ? तुरुन्त गर्न माग गर्छु। यसको लागि सभामुखबाट पनि रुलिङ होस्।'

दुलालले यस विषयमा आफ्नो दलका सबै सांसदको हस्ताक्षर आवश्यक परे तत्काल उपलब्ध गराउने घोषणा पनि गरे।