काठमाडौं - प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध एक जुट भएर लाग्ने झम्सीखेल भेलाले निर्णय गरेको छ ।

बुधबार साँझ पार्टी कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नेताहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सम्मिलित बैठकले प्रधानमन्त्रीलाई पार्टी निर्णय मान्न बाध्य पार्ने निर्णय गरेको हो ।

झण्डै ३ घण्टा लामो बैठकमा ओलीविरुद्ध मोर्चाबन्दी कसिलो बनाउँदै अघि बढ्ने र उनले राजीनामा दिनुपर्ने निष्कर्ष निकालिएको हो । ओली सहमतिमा नआए बहुमतका आधारमा निर्णय लिने तयारी छ ।

मंलबार र बुधबारको बैठकमा दाहाल र नेपाल समूहका नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेका थिए । प्रधानमन्त्री ओलीले पनि बिहान आफू निकट नेताहरुसँग छलफल गरेका थिए ।