काठमाडौं - निर्वाचन आयोगले निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरूको मतभारको पूर्वअनुमान गरी सार्वजनिक नगर्न आग्रह गरेको छ।

विभिन्न स्थानमा उम्मेदवारी दिएका राजनीतिक दलका उम्मेदवारहरूले कति मत ल्याउँछन् र कसले जित हासिल गर्छ भन्ने विषयमा सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने अभ्यास बढ्दो क्रममा रहेको भन्दै आयोगले यस्तो कार्यले निर्वाचनको निष्पक्षता प्रभावित हुन सक्ने चेतावनी दिएको हो।

आयोगका अनुसार मतदानअघि नै मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्दा मतदाताको स्वतन्त्र निर्णय प्रक्रियामा दिग्भ्रम पैदा हुने, उम्मेदवारहरू हतोत्साही बन्ने तथा स्वस्थ प्रतिस्पर्धाको वातावरणमा खलल पुग्ने जोखिम रहन्छ। त्यसैले यस्ता गतिविधि तत्काल रोक्न सरोकारवालालाई आग्रह गरिएको छ ।

आयोगले ‘निर्वाचन आचारसंहिता २०८२’ को पूर्ण पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र सर्वेक्षण संस्थाहरूलाई आह्वान गरेको छ।

निर्वाचनको विश्वसनीयता जोगाउन कानुनी तथा नैतिक दायित्वको सम्मान आवश्यक रहेको आयोगको भनाइ छ।

पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी तयार गरिएका भ्रामक सामग्री सामाजिक सञ्जालमा प्रसारण भइरहेको उल्लेख गर्दै आयोगले त्यसप्रति गम्भीर बन्न आग्रह गरेको छ।

झुटा अडियो–भिडियो, तथ्यहीन विश्लेषण तथा दिग्भ्रमित सामग्रीले मतदातालाई भ्रमित पार्ने सम्भावना उच्च रहेको भन्दै त्यस्ता गतिविधि नगर्न र नगराउन आयोगले सबै पक्षलाई सचेत गराएको छ।