काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी टुक्रिएकोमा चिन्ता नलिन कार्यकर्तालाई आग्रह गरेका छन् । उनले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने समेत बताए । 

ललितपुरको महालक्ष्मीस्थान नगरपालिकामा आज आयोजित युवा संघ नेपालको कार्यक्रममा बोल्दै ओलीले सिंगो एमाले अझै आफूहरुसँगै रहेको दाबी गरे । ‘बिग्रिएका मान्छेले पार्टी छोडेका हुन् । फुटेको होइन, चोइटिएको मात्रै हो । फुट्यो भने दुई टुक्रा हुन्छ काम लाग्ने हुँदैन । अहिले त सानो चोइटो मात्रै गएको हो । सिंगो एमाले त यहीँ छ ।’ ओलीले भने, ‘नुहाउँदा एक–दुई वटा कपाल झर्छन् । अहिले त्यस्तै भएको हो । जस्तोसुकै ब्राण्डेड साबुन प्रयोग गरे पनि एक–दुई वटा कपाल त झर्छन् नै यसमा चिन्ता लिनुपर्ने कुरै छैन ।’ 

उनले थपे, ‘‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन् ।’ ओलीले आगामी निर्वाचनमा जितेर एमाले फेरि पनि सरकार बनाउने र विकास तथा समृद्धिको नेतृत्व गर्ने दाबी गरे ।

जनादेशबाट होइन जालझेलबाट सरकारबाट हटाइएकाले चुनावबाट यसको जवाफ दिने उनले बताए ।  ‘चुनाव त आओस् जवाफ दिनुपर्छ, एकमुष्ट, थोक जवाफ दिनेछौँ,’ ओलीले भने, ‘अबको चुनावमा एमालेको कसैसँग प्रतिस्पर्धा हुँदैन, एमालेबाट को उम्मेदवार बन्छ, अहिले थाहा छैन, तर जो उठे पनि जित्छ । हामीले प्रतिस्पर्धा हुन दिने नै होइन ।’

उनले माधव नेपाल प्रतिक्रियावादीसँग मिलेको भन्दै त्यस्ता मान्छे पार्टीबाट बाहिरिएर कुनै फरक नपर्ने बताए ।