– प्रवीण भट्टराई                                                                                                                                                        सञ्चार माध्यम समाजको ऐना हो र पत्रकारिता राज्यको चौथो अंग। यसको मूल मर्म सत्यको अन्वेषण, निष्पक्षता र प्रमाणमा आधारित सूचना सम्प्रेषण हुनुपर्ने हो। तर, पछिल्लो समय नेपाली सञ्चार क्षेत्रको एउटा तप्का सत्यको धरातल छाडेर 'क्लिकाबहादुर' बन्ने होडमा कतिसम्म गिर्न सक्छ र नियोजित 'Mass Manipulation' (भ्रामक जनप्रपोगाण्डा) मार्फत व्यक्तिको वर्षौँको कठोर मिहिनेतबाट निर्मित चरित्रमाथि कसरी धज्जी उडाउन सक्छ भन्ने कुराको पछिल्लो भुक्तभोगी म आफैँ बनेको छु। मिडियाको शक्तिलाई हतियार बनाएर समाजलाई भ्रमित तुल्याउने र कसैको व्यक्तिगत प्रतिष्ठा निमेषभरमै सडकमा फ्याँकिदिने यो प्रवृत्ति पत्रकारिता होइन, विचारको डकैती हो। हालै एक अनलाइन सञ्चारमाध्यममा मेरो नाम र उपलब्धिलाई जोडेर नियोजित रूपमा सम्प्रेषण गरिएको तथ्यहीन, अपुष्ट र भ्रामक समाचारप्रति मेरो गम्भीर आपत्ति मात्र होइन, घोर भर्त्सना छ।

कुनै पनि व्यक्तिको व्यक्तिगत, शैक्षिक र व्यावसायिक पृष्ठभूमि नै नबुझी, सम्बन्धित पक्षको न्यूनतम प्रतिक्रिया समेत नलिई एकतर्फी रूपमा चरित्रहत्या गर्ने कुत्सित मनसायले कोरिएका ती शब्दहरू पत्रकारिताको आचारसंहिता विपरीत मात्र छैनन्, बरु देशमै केही गर्छु भनेर लागेका युवा वैज्ञानिक र विज्ञहरूमाथिको एउटा गम्भीर मानसिक र सामाजिक प्रहार पनि हो। यस सन्दर्भमा भ्रमको खेती र 'Mass Manipulation' गर्नेहरूलाई यथार्थको ऐना देखाउन र आम पाठकवर्गमाझ सत्य तथ्य स्पष्ट पार्न यो लेखमार्फत आफ्ना कुराहरू राख्न चाहन्छु।

१. योग्यताको अवमूल्यन: छात्रवृत्ति कि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा?

उक्त नियोजित समाचारमा मेरो शैक्षिक योग्यता र योग्यताको आधारमा पाएको अवसरलाई समेत शङ्काको घेरामा राख्ने दुश्प्रयास गरिएको छ। म स्पष्ट पार्न चाहन्छु— म फ्रान्स सरकारको (French Civil Aviation Ministry) अत्यन्तै कडा र प्रतिस्पर्धात्मक छात्रवृत्ति प्राप्त गरी Unmanned Aircraft System (ड्रोन प्रविधि) मा स्नातकोत्तर (Master's) अध्ययन गर्ने नेपालकै औँलामा गन्न सकिने (५ जना भन्दा कम) सीमित व्यक्तिहरूमध्ये एक हुँ। युरोपकै पहिलो र प्रतिष्ठित एभिएसन विश्वविद्यालय (ENAC) बाट यो योग्यता हासिल गर्नु कुनै political पहुँच वा चाकडीको विषय होइन, यो विशुद्ध बौद्धिक प्रतिस्पर्धा र कठोर मिहिनेतको परिणाम हो। हाल मैले विभिन्न तीनवटा फरक विषयमा स्नातकोत्तर (Master's Degree) हासिल गरिसकेको छु। के नेपालमा अध्ययन र अनुसन्धान गरेर विज्ञता हासिल गर्नु अपराध हो?

२. जगलाई होच्याउने संकुचित सोच र अन्तर्राष्ट्रिय मञ्चको यथार्थ

मेरो करियरको प्रारम्भिक चरणमा नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) अन्तर्गत गरेको सेवालाई समाचारमा अत्यन्तै तल्लो स्तरको भाषा प्रयोग गरेर होच्याउने शैलीमा प्रस्तुत गरियो। हाल म ३६ वर्षको परिपक्व उमेरमा छु। कुनै पनि मानिस आफ्नो २३-२४ वर्षको उमेरमा, स्नातक तहको अध्ययन नै पूरा नहुँदै आकाशबाट खसेर सिधै देशको सर्वोच्च पदमा पुग्दैन। त्यो बेला खुला प्रतिस्पर्धा र लोकसेवा आयोगको विधि पार गरेर मैले सो स्थायी जागिर खाएको थिएँ। ३ वर्ष इमानदारीपूर्वक सेवा गरेपछि म फ्रान्समा 'अवैतनिक अध्ययन बिदा' (Unpaid Education Leave) स्वीकृत गराएर विधागत क्षमता बढाउन MBA अध्ययन गर्न गएको थिएँ। करियरको सुरुवाती चरणमा गरिएको इमानदार श्रम लाजको विषय होइन, बरु उड्डयन क्षेत्रलाई भुइँतहबाट बुझ्ने मेरो सिकाइको बलियो आधार (Step) थियो।

विडम्बना! हाम्रो समाजमा अझै पनि जातभात, पद र कामको आधारमा मानिसको वर्गीकरण गर्ने सामन्ती सोच र संकुचित मानसिकता कति व्याप्त छ भन्ने प्रमाण उक्त समाचारले दिएको छ। सोही पदमा रहँदा मेरो क्षमताकै कदर गर्दै सिंगापुरमा आयोजित 'Inter Airport Marina Bay 2023' को उच्चस्तरीय अन्तर्राष्ट्रिय प्यानल डिस्कसनमा मलाई नेपालको प्रतिनिधित्व गर्न आमन्त्रण गरिएको थियो। जहाँ मैले Malaysian Airlines का CEO र IATA का मिडिल इस्ट एसिया हेड जस्ता विश्वविख्यात उड्डयन नेतृत्वकर्ताहरूसँग मञ्च (Chair) सेयर गरेको थिएँ। पद सानो वा ठुलो हुन्न, व्यक्तिको दृष्टिकोण र क्षमता ठुलो हुन्छ भन्ने बुझ्न नसक्ने 'पीत पत्रकार' हरूले यो अन्तर्राष्ट्रिय प्रतिष्ठाको पाटोलाई किन लुकाए?

३. 'ड्रोन व्यापारी' को चस्मा र 'ड्रोन टुरिजम' को फराकिलो यथार्थ

मलाई केवल "ड्रोनको व्यापार गर्ने व्यक्ति" को रूपमा सीमित र संकुचित घेरामा राखेर मेरो प्राविधिक र प्राज्ञिक क्षेत्रको अवमूल्यन गर्ने प्रयत्न गरियो। वास्तवमा मेरो पहिचान र कर्म व्यापारमा मात्र सीमित छैन। म उड्डयन र ड्रोन क्षेत्रको अनुसन्धान, नीति निर्माण र प्राज्ञिक नेतृत्वमा सक्रिय छु:

म Drone Hub Nepal को प्रबन्ध निर्देशक (Managing Director) र Unmanned Aircraft Association of Nepal (UDDAN) को महासचिवका रूपमा देशको ड्रोन प्रविधिलाई संस्थागत गर्न लडिरहेको छु।

नेपालमा विश्वभरका ड्रोन र एभिएसन विज्ञहरूलाई भित्र्याएर विशेष वर्कसपहरू सञ्चालन गर्दै देशमा 'ड्रोन टुरिजम' (Drone Tourism) को जग बसाल्ने कामको सुरुवात मैले नै गरेको हुँ। चीनको प्रतिष्ठित एभिएसन कलेजलाई नेपालमा आमन्त्रण गरी धुलिखेलमा आयोजना गरिएको वृहत् वर्कसप यसको एउटा सजीव उदाहरण हो।

मैले अन्तर्राष्ट्रिय स्तरमा Canadian Aviation College, Canada मा इन्स्ट्रक्टरको रूपमा Aviation Safety Management System र Crew Management जस्ता अत्यन्तै संवेदनशील प्राविधिक विषयहरू अध्यापन गराइसकेको छु।

म लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत सञ्चालित नेपालकै पहिलो Unmanned Aircraft System Management कोर्सको पाठ्यक्रम संवर्द्धन समितिको अध्यक्ष (Curriculum Design Chairman) तथा उक्त कार्यक्रमको फ्याकल्टी हेड (Faculty Head) को रूपमा देशका लागि आवश्यक जनशक्ति उत्पादनको नेतृत्व गरिरहेको छु।

के यी प्राज्ञिक, पर्यटकीय र प्राविधिक योगदानहरू केवल "व्यापार" मात्र हुन्? तथ्यहरूलाई बङ्ग्याएर भ्रम छर्नु पत्रकारिता हो कि कसैको इसारामा रचिएको प्रायोजित प्रहसन?

४. 'मन्त्रीको पीए' को काल्पनिक कथा र अमुक सम्बन्ध

समाचारको सबैभन्दा हास्यास्पद र कपोलकल्पित अंश "मन्त्रीको पीएको साथी भएकै कारण नियुक्ति भएको" भन्ने आरोप हो। कुनै प्रमाण बिना, केवल सनसनी फैलाउन रचिएको यो कथा पूर्णतः आधारहीन छ। सम्बन्धित व्यक्ति र म फ्रान्सको एउटै विश्वविद्यालयमा अध्ययन गरेको तथ्य साँचो हो, तर हाम्रा विभागहरू र अध्ययनका विषयहरू पूर्णतः फरक थिए। म उहाँको सिनियर विद्यार्थी थिएँ। हाम्रो नियमित भेटघाट हुनु त परको कुरा, हामीले सँगै बसेर एक कप चिया वा खाजा समेत खाएको अवस्था छैन। विश्वविद्यालयको एउटै क्याम्पसमा पढ्नुलाई 'सम्बन्धको दुरुपयोग' भनेर अर्थ्याउनु कुण्ठा बाहेक केही होइन। मेरो नियुक्तिमा कुनै पनि प्रकारको राजनीतिक प्रभाव, पहुँच वा सिफारिसको गन्ध समेत छैन।

५. अदालतको फैसला र कानुनी राज्यको उपहास

मेरो नियुक्ति सम्बन्धित निकायले तोकेको सम्पूर्ण कानुनी प्रक्रिया, मापदण्ड, योग्यता र कडा मूल्याङ्कन प्रणालीका आधारमा पारदर्शी रूपमा भएको थियो। यदि कसैलाई उक्त प्रक्रियाप्रति कुनै विमति थियो भने पनि त्यसको अन्तिम व्याख्या र छिनोफानो सम्मानित अदालतबाट भइसकेको छ। अदालतले समेत न्याय निरूपण गरिसकेको विषयलाई उछालेर, न्यायिक सर्वोच्चताको खिल्ली उडाउँदै व्यक्तिको चरित्रमाथि हिलो छ्याप्नु कानुनी राज्यको उपहास हो।

निष्कर्ष: पीत पत्रकारितालाई चुनौती

तथ्य र प्रमाणको कसीमा शून्य, तर पूर्वाग्रह, चरित्रहत्या र 'Mass Manipulation' मा उद्यत यस्ता समाचारले म विचलित हुने छैन। तर यसले नेपाली मिडियाको विश्वसनीयतामाथि भने ठुलो प्रश्नचिह्न खडा गरेको छ।

म सम्बन्धित सञ्चारमाध्यमलाई आफ्ना भ्रामक तथ्यहरू तत्काल सच्याउन र सत्य सूचना सम्प्रेषण गर्न आग्रह गर्दछ। स्वतन्त्रताको अर्थ स्वच्छन्दता र कसैको प्रतिष्ठामाथि धावा बोल्ने लाइसेन्स पक्कै होइन। यदि यस प्रकारका पीत पत्रकारिता र नियोजित प्रहारहरूलाई तत्काल नसच्याइएमा, आफ्ना सचेत पाठकहरू गुमाउनु त पर्नेछ नै, साथै म आफ्नो संवैधानिक र कानुनी अधिकारको प्रयोग गर्दै प्रेस काउन्सिल र सम्मानित अदालतको ढोका ढकढकाउन र कानुनी उपचार खोज्न पूर्ण रूपमा तयार रहेको स्पष्ट पार्न चाहन्छु। सत्यलाई केही समय भ्रमको पर्दाले छोप्न सकिएला, तर समाप्त पार्न सकिँदैन।