प्रधानमन्त्री ओलीको सपथविरुद्ध परेका रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटको सुनुवाइ प्रधानन्यायाधीश इजलासमा हुने भएको छ ।
बैशाख ३१ गते राष्ट्रपतिसमक्ष प्रधानमन्त्री ओलीले सपथ ग्रहण गर्ने क्रममा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गरेका थिएनन्। ‘...मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्छु’ भन्नुपर्नेमा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द नै उच्चारण गरेनन् । राष्ट्रपतिले दोस्रो पटक भन्दा सो शब्द उच्चारण गरे पनि ओलीले उच्चारण गरेनन् । बरु, उनले ‘त्यो पर्दैन’ भनेर राष्ट्रपतिलाई सिकाउन खोजेका थिए । त्यसपछि ओलीले शपथमा प्रयोग भएको 'ईश्वर' भन्ने शब्द पनि उच्चारण गरेनन्।
जुन कार्य गैरसंवैधानिक भएको र आफूअनुकूल शब्द प्रयोग गरी शपथ ग्रहण गर्न नमिल्ने उल्लेख गरी पुनः शपथ लिनुपर्ने जिकिर गर्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताद्वय लोकेन्द्र ओली र सन्तोष भण्डारीले दिएको रिट निवेदन सोमबार दर्ता भएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले प्रधानमन्त्रीको उक्त सपथविरूद्ध परेका चार वटै रिटमाथिको सुनुवाइ मंगलबार गर्दैछ ।
फेसबुक पेज Like गर्नुहोस