काठमाडौं,जनकपुरधाम - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज बुधवार विश्वासको मत लिँदैछन् । आज दिउँसो बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री राउतले संविधानको धारा १८८ को २ अनुसार विश्वासको मत लिन आज प्रदेश सभा बैठक बोलाइएको छ । प्रदेश सभामा १०४ सदस्य छन् । प्रदेश २ सरकारको नेतृत्व गर्ने जसपाका ३८, कांग्रेसका १९, माओवादी केन्द्रका ८ र नेकपा (एकीकृत समाजवादी)का १३ गरी ७८ जना सदस्यको सुविधाजनक मत मुख्यमन्त्री राउतको पक्षमा छ ।

प्रदेश २ मा जनता समाजवादी पार्टी नेपालको संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री राउतले सत्ता साझेदार दलहरूका प्रदेश सभा सदस्य सङ्ख्याका आधारमा सहजै विश्वासको मत प्राप्त गर्ने देखिएको छ । जनता समाजवादी पार्टी विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल गठन भएपछि मुख्यमन्त्री राउतलाई विश्वासको मत लिने अवस्था आएको हो ।